प्रहरीमा मिलापत्र गरेको दुई महिनामै प्रमिलाको हत्या

Microlink Media

१ फाल्गुन २०८०, मंगलबार


काठमाडौं महानगरपालिका–९, गौशालास्थित सिरहा धनुषा होटलको कोठा नम्बर १०८ दुई दिनसम्म बन्द थियो । ग्राहक फर्किएर नआएपछि होटल सञ्चालकलाई लाग्यो, ‘बाँकी पैसा नतिरी भागेछन् कि क्या हो !’ त्यसपछि होटलका कर्मचारीले ‘मास्टर की’ लिएर गएर ढोका खोले । त्यसक्रममा खाटमा पल्टिरहेको अवस्थामा महिलाको शव देखियो ।

लगत्तै प्रहरी कन्ट्रोल १०० मा खबर आयो, गौशाला प्रहरीको टोली घटनास्थलमा पुग्यो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, महिलाको शव घाँटीमा नाइलनको डोरीले कसिएको अवस्थामा थियो भने अनुहारमा पनि रगत लागेको थियो । कोठामा महिलाको पहिचान खुल्ने कुनै विवरण थिएन ।

मोबाइल फोन पनि गायब थियो । सोधपुछका क्रममा होटलका कर्मचारीहरुले ती महिला एक जना पुरुषसँग आएको बयान दिए । तर, होटलको ‘लग बुक’मा उल्लिखित विवरण मेल खाइरहेको थिएन । शवको प्रकृति र होटलमा दिएको गलत विवरणले घटना शंकास्पद देखायो’, खत्री भन्छन्, ‘त्यसपछि विभिन्न पाटोबाट अनुसन्धानलाई तीव्रता दियौं ।’

होटलको ‘लगबुक’ कोठा लिने व्यक्तिले आफ्नो नाम सञ्जीव लामा र ठेगाना सिन्धुली उल्लेख गरेका थिए । ‘त्यहाँ टिपाएको नम्बर ट्याक गर्दा त्यो नम्बर सञ्जीव लामाको थिएन, बरु संखुवासभामा कार्यरत् प्रहरीकै एक जना असईको भएको खुल्यो’, उनले भने, ‘उनीसँग सोधपुछ र अनुसन्धान गर्दा ती प्रहरी काठमाडौं आउँदै नआएको खुल्यो, लोकेसन पनि निरन्तर संखुवासभामै देखियो ।’

त्यसपछि होटलको विवरणमा फोन नम्बर समेत गलत राखेको खुल्यो । ‘सीसी टीभी क्यामराको फुटेजका आधारमा अरु खोजी गर्न थाल्यौं’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसक्रममा उनी केही दिनअघि पनि त्यही होटलमा बसेको खुल्यो, त्यसबेला पनि फरक नम्बर टिपाएको भेटियो ।’

सीसी टीभी ट्याक गर्दै जाँदा उनीहरुले अर्को एउटा होटलमा समेत पुगेको खुलेको ती अधिकृत बताउँछन् । त्यहाँ भने ती व्यक्तिले एउटा गल्ती गरे, जुन प्रहरीका लागि अनुसन्धानमा ‘ब्रेक थ्रू’ गराउने माध्यम बन्यो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, त्यो होटलमा दिएको नम्बर बोक्ने व्यक्तिलाई सम्पर्क गरेर ल्याउँदा उनी मृतकका श्रीमान् भएको खुल्यो ।

‘उनले तस्वीर हेरेर आफ्नो पत्नी रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएकी प्रमिला दमाइ भएको सनाखत गरिदिए, त्यसपछि उनले नै हत्या गरेको हुनसक्ने शंका गरेको थियौं’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तर, अरु विषयहरुले उनीतिर संकेत गरेन, सीसी टीभीमा देखिएको हुलियाभन्दा पनि उनी फरक थिए ।’

यसपछि उनकै बयानका आधारमा श्रीमती प्रमिलाको अर्को सम्बन्धबारे जानकारी पाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, त्यसक्रममा उनका श्रीमानले प्रमिला विगत एक वर्षदेखि एक जना केटासँग सम्बन्धमा रहेको खुलाए ।

उनको नाम भने बताउन सकेनन् । यद्यपि, उनीहरुबीच सम्बन्धका कारण दुई परिवारबीच विवाद भएको समेत तथ्य खुल्यो । त्यसक्रममा यो विषय प्रहरीसम्म समेत पुगेको भेटिएको एसएसपी खत्री बताउँछन् ।

‘इलाका प्रहरी कार्यालय, धोबीडाँडा, रामेछापले यो विषयमा ७ मंसिर २०८० मा मिलापत्र गराएको समेत फेला पर्‍यो, त्यसपछि कागज मगाएर अध्ययन गर्‍यौं’, एसएसपी खत्रीले भने, ‘त्यसक्रममा प्रमिलासँग सम्बन्धमा रहेका व्यक्ति दोलखाको बैतेश्वर गाउँपालिका–७ घर भइ हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय कुमार श्रेष्ठ भएको खुल्यो ।’

एसएसपी खत्रीका अनुसार, शंकास्पद व्यक्तिको पहिचान भएपछि उनको प्राविधिक पक्षको विश्लेषण गर्दै उनको खोजीलाई तीब्र पारिएको थियो । ‘उनको स्थायी घर भएको दोलखा, पुरानो डेरा कोठा, हालको कोठा लगायतका स्थानमा प्रहरी टोली परिचालित भयो’, खत्रीले भने, ‘त्यसक्रममा उनलाई बानेश्वरको बुद्धनगरस्थित लक्ष्मी चोकबाट नियन्त्रणमा लिन सफल भयौं ।’

त्यसक्रममा उनको साथबाट मृतक प्रमिला दमाइको मोबाइल पनि बरामद भयो भने प्रहरीले उनीहरुबीच वादविवाद हुँदा च्याटिएको टी–सर्ट समेत बरामद गरेको छ ।