राष्ट्रपति रामचन्द्र पौडेलले कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजालाई आग्रह गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निमन्त्रणामा दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार असोज २० मा इजरायलमाथि भएको प्यालेस्टिनी विद्रोही समूहको हमास आक्रमण पछि बेपत्ता विपिनको रिहाइका लागि राष्ट्रपति पौडेलले चासो व्यक्त गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिको उक्त चासोलाई कतारका राजाले सकारात्मक रुपमा लिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको थियो ।