काठमाडौँः नेपाल सरकारले समयमा रासायनिक मल उपलब्ध नगराएपछि बर्दियाका किसानहरू मलका लागि ७० किलोमिटरभन्दा टाढाको साइकल यात्रा गर्न बाध्य भएका छन् ।
मधुवनकी बुधरानी र माया थारूसगक जस्ता किसानहरू भारतीय सीमावर्ती क्षेत्रबाट महँगो मूल्यमा युरिया मल ल्याउन दिनभरको सास्ती खेप्छन् । नेपालमा अनुदानको मल प्रतिक;१ हजार १ सय रुपियाँ पर्ने भए पनि भारतीय बजारबाट ल्याउँदा उनीहरूले १ हजार ८ सयदेखि २ हजार रुपियाँसम्म तिर्नुपरेको छ ।
सहकारीमा दिनभर लाइन बसेर पनि प्रतिविघा जम्मा १०–१५ किलो मात्र मल पाउने भएपछि किसानहरू महँगो भए पनि सीमापारिको मल ल्याउन विवश छन् । कृषि सामग्री कम्पनी गुलरियाका अनुसार जिल्लामा धानको सिजनमा १० हजार मेट्रिक टन युरियाको माग भए पनि एकचौथाइ मात्र आपूर्ति भएको छ ।
पर्याप्त मल आपूर्ति नहुँदा किसानहरू गुणस्तरहीन भारतीय मल प्रयोग गर्न बाध्य भएको र यसले यस वर्ष धान उत्पादनमा गम्भीर असर पार्ने निश्चित रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ ।





