गरिमाको न्यायका लागि काठमाडौंमा प्रदर्शन



काठमाडौँःबाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

अधिकारकर्मी र मृतकका आफन्तहरूले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । बालिकाका परिवारले न्यायको माग गर्दै बारामा पनि निरन्तर आन्दोलन जारी राखेका छन् । आमा–बुबासहितका परिवारका सदस्यहरू सडकमै धर्नामा बसेका कारण वीरगञ्ज–पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध बनेको छ ।

यसअघि बिहीबार राति प्रशासनले स्थानीयहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको सहमतिबिना गरिएको भन्दै उक्त सम्झौता अस्वीकार गरेका छन् । मृतकका बाबु मनोज चौधरीले नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउन गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम नै घटनास्थलमा आउनुपर्ने कडा माग राखेका छन् ।