काठमाडौँः जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर दुई जना स्थानीय बेपत्ता भएका छन् ।
घटनाले स्थानीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । प्रहरीका अनुसार जुनीचाँदे–६ छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापालाई बुधबार साँझ गोठबाट घरतर्फ फर्कने क्रममा सेती खोलाले बगाएर बेपत्ता बनाएको थियो । यस्तै, शुक्रबार बिहान करिब २ बजे परेको अविरल वर्षाका कारण डोग्राखोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न गएका ६४ वर्षीय देवबहादुर सिंह पनि सम्पर्कविहीन (बेपत्ता) भएका छन् ।
बाढीका कारण मानवीय क्षतिबाहेक भौतिक संरचनामा पनि ठूलो असर परेको छ । स्थानीय क्षेत्रमा रहेका ८ देखि १० वटा पानीघट्ट बाढीले बगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ बेपत्ताहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन् ।
तर, लगातार भइरहेको वर्षाका कारण खोजी तथा उद्धार कार्यमा भारी कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।





