काठमाडौँः नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ । पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्
। संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल नगरी महाधिवेशनको कार्यतालिका अघि बढाएको भन्दै देउवा र खड्का पक्षले त्यसलाई रोक्न माग गरेका हुन् । देउवाका तर्फबाट दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च पुगेका छन् । रिटमा सार्वजनिक गरिएको महाधिवेशनको कार्यतालिका र त्यसअनुसार अघि बढाइएको प्रक्रिया रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ ।
कांग्रेसले वडा अधिवेशन भदौ २४ गतेदेखि सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । यसअघि कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा देउवा पक्षले सर्वोच्चमा पुनरावलोकन निवेदनसमेत दिएको थियो । यही विवादका कारण महाधिवेशन प्रक्रिया अघि बढाउने र रोक्ने पक्षबीच मतभेद थप गहिरिएको हो ।





