जापानमा नेपाली छात्रा मृत फेला, हत्याको आशंका


काठमाडौँः जापानको फुकुओकामा अध्ययनरत २५ वर्षीया नेपाली छात्रा लक्ष्मी राजवंशीको शव शंकास्पद अवस्थामा नाका नदीमा फेला परेको छ । झापाकी राजवंशी सन् २०२३ मेमा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।

अगस्ट १९ को बिहान तेन्जिन क्षेत्रस्थित नदीमा उनको शव तैरिरहेको अवस्थामा भेटिएको थियो। शव परीक्षणका क्रममा टाउको, अनुहार र शरीरका विभिन्न भागमा भुत्ते वस्तुले प्रहार गरेको जस्तो देखिने चोटपटक भेटिएपछि प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ । राजवंशी अगस्ट १८ को राति पार्टटाइम काम सकेर निस्किएपछि सम्पर्कविहीन भएकी थिइन् ।

अनुसन्धानका क्रममा उनी बस्दै आएको डेरामा समेत रगतका दाग र संघर्ष भएको संकेत भेटिएको प्रहरीले जनाएको छ । त्यसैले उनको हत्या डेरामै गरी शव नदीमा फालिएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे फुकुओका प्रिफेक्चरल प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी सीसीटीभी फुटेजलगायत प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाइरहेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।