‘मर्यादामा बस्छु’ भनेको भोलिपल्टै बैठकमा आशिकाको हंगामा



काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ पुनः विवादमा तानिएकी छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी विषयमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग चर्को भनाभन भएपछि उनी आक्रोशित हुँदै बैठकबाट बाहिरिएकी हुन् ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीयवासीका समस्या तथा भइरहेको कामकारबाहीबारे छलफल भएको थियो ।

छलफलका क्रममा मेयर महर्जनले महानगरले आफ्नो तर्फबाट निरन्तर काम गरिरहेको भन्दै अनावश्यक दबाब र आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका थिए। उनले विषयको वास्तविकता बुझेर मात्र धारणा बनाउन सांसदहरूलाई आग्रह गरेका थिए । मेयर महर्जनको भनाइपछि सांसद तामाङ आक्रोशित बनेको बताइएको छ । बैठककक्षमै दुवैबीच भनाभन भएपछि वातावरण तनावपूर्ण बनेको थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले स्थिति सामान्य बनाउन प्रयास गरे पनि विवाद साम्य नभएपछि तामाङले टेबल ठटाउँदै बैठक छाडेको बताइएको छ । यो घटनाको अघिल्लो दिन मात्रै सांसद तामाङले सामाजिक सञ्जालमार्फत आफू अबदेखि भद्र, अनुशासित र मर्यादित बन्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले आफूले झुट नबोल्ने, रिस नियन्त्रण गर्ने र मर्यादामा बस्ने प्रयास गर्ने बताएकी थिइन् ।

तर, त्यसको २४ घण्टा नबित्दै सरकारीस्तरको बैठकमै विवादमा परेपछि उनको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना र चर्चा सुरु भएको छ ।