काठमाडौँः काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवक वसन्त कालाथोकीको मृत्यु भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१७ का कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ । यसैबीच, मृतक कालाथोकीकी आमाले समेत छोराको मृत्युको खबरपछि आत्महत्या गरेको बताइएको छ ।
घटनाबारे थप विवरण तथा आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।





