काठमाडौँः जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ । पहिलो चरणमा अतिक्रमित पोखरीका डिल खाली गराउन डोजर चलाउन थालिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल हटाउने कामबाट अभियान सुरु गरिएको छ । गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार आजै जनकपुरका सातवटा पोखरीको अतिक्रमण हटाइनेछ ।
उनका अनुसार गत साउन १ गते नै अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरिएको थियो। पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको छ । अतिक्रमण हटाउने कार्यलाई चरणबद्ध रूपमा अघि बढाइएको छ । पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य गुठी जग्गाको अतिक्रमण हटाइने समितिले जनाएको छ ।
अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले जनकपुरका गुठी जग्गाको अतिक्रमणबारे तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको छ ।





