बञ्चरेडाँडामा फोहोरको गाडी रोकियो, १५ दिनको अल्टिमेटम


काठमाडौँः बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई एक घण्टा रोकेका छन् । फोहोर वैज्ञानिक र व्यवस्थित रूपमा व्यवस्थापन नभएको तथा दुर्गन्ध फैलिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार विगतमा भएका सहमति कार्यान्वयन नभएपछि स्थानीयले फोहोर ढुवानी रोकेका हुन् । उनका अनुसार १५ दिनभित्र माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर विसर्जन पूर्ण रूपमा रोक लगाइनेछ । स्थानीयले प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण गर्नुपर्ने, फोहोरबाट निस्कने लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा स्थानीयको स्वास्थ्य, शिक्षा र रोजगारीका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

बञ्चरेडाँडामा फोहोरको लिच्चेड खोलामा मिसिन थालेको र कुहिने तथा नकुहिने फोहोर छुट्याउने व्यवस्था नहुँदा समस्या थपिएको स्थानीयको गुनासो छ । २० वर्षका लागि निर्माण गरिएको ल्यान्डफिल साइटमा फोहोरको ठूलो चुली बनेको उनीहरूको भनाइ छ । काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा व्यवस्थापन हुँदै आएको छ। यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर विसर्जन गरिएको थियो भने पछिल्लो चार वर्षदेखि बञ्चरेडाँडामा फोहोर फालिँदै आएको छ ।

फोहोरका कारण गाउँमा दुर्गन्ध फैलिनुका साथै स्वास्थ्य, कृषि तथा पशुपन्छी पालनमा समेत असर परेको स्थानीयको दाबी छ । स्थानीयले १५ दिनभित्र माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।