काठमाडौँः गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा नागरिकको खबरदारी स्वाभाविक भए पनि अनुसन्धानलाई निष्पक्ष रूपमा अघि बढ्न दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सरकारका काममाथि प्रश्न उठाउने, कमजोरी औँल्याउने र आवश्यक खबरदारी गर्ने अधिकार नागरिकसँग रहेको बताएका छन् । तर, अनुसन्धान प्रभावित नहुने गरी सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारी पूरा गर्न दिनुपर्ने उनको भनाइ छ । गृहमन्त्री गुरुङले घटनामा दोषी देखिएकामाथि कानुनअनुसार कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै यस्ता घटना दोहोरिन नदिन कानुनी तथा संस्थागत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन् ।
उनका अनुसार सरकारको उद्देश्य दोषीलाई कारबाही गर्नुमा मात्र सीमित छैन । बालबालिका, विशेषगरी छोरीहरू सुरक्षित रूपमा बाँच्न सक्ने वातावरण निर्माण गर्नु पनि सरकारको प्रमुख जिम्मेवारी हो । उनले विगतका अनुसन्धानका अनुभव र कमजोरीबाट पाठ सिक्दै गरिमा हत्या प्रकरणको अनुसन्धान अघि बढाइएको बताएका छन् ।
साथै, कानुनले प्रदान गर्ने अधिकतम न्याय दिलाउने प्रतिबद्धता जनाउँदै नागरिकको आक्रोशलाई न्याय प्राप्तिको अभियानमा रूपान्तरण गर्न आग्रह गरेका छन् ।





