काठमाडौँः जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर एक सातादेखि अवरुद्ध हुँदा हिमाली जिल्ला डोल्पामा खाना पकाउने एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
जाजरकोटको नलगाड नगरपालिका–११ चौखास्थित तासुघाट खोलामा आएको बाढीले सडक कटान गर्नुका साथै ह्युमपाइप र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि करिडोर अवरुद्ध भएको हो। सडक बन्द हुँदा डोल्पातर्फ जाने मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि बाहिरी जिल्लाबाट आउने पेट्रोल, डिजेल, एलपी ग्याँसलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ ।

मौज्दात घट्दै गएपछि डोल्पाका बजारमा ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार सडक अवरुद्ध हुनुअघि जिल्लामा ग्याँस तथा इन्धनको अभाव थिएन । सडक बन्द भएपछि आपूर्ति रोकिँदा अहिले समस्या देखिएको हो। सडक खुलेपछि बाटोमा रोकिएका मालवाहक सवारीसाधन डोल्पा भित्रिएसँगै अभाव कम हुने उनले बताइन् ।
ग्याँस अभावको असर होटल व्यवसायमा समेत परेको छ । कतिपय होटलले खाना तथा खाजा बनाउन समस्या भोगिरहेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका होटल व्यवसायी नरेश गुरुङले ग्याँस नपाउँदा ग्राहकलाई समेत फर्काउनुपरेको बताए । यसैबीच, प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले भेरी करिडोर तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले अस्थायी पुनर्निर्माण गरेर भए पनि सडक खुलाउन आग्रह गरेका छन् ।
भेरी करिडोर कार्यालयका अनुसार चौखास्थित तासुघाट खण्डको मर्मत तथा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पैदल यात्रु र मोटरसाइकल चल्न मिल्ने गरी बाटो निर्माण भइसकेको छ भने सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न थप काम भइरहेको छ । भेरी करिडोर डोल्पाको मुख्य आपूर्ति मार्ग भएकाले सडक लामो समय बन्द रहे खाद्यान्न, निर्माण सामग्री र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या हुन सक्ने प्रशासनले जनाएको छ ।
स्थानीयवासीले वर्षायाममा पटक–पटक हुने सडक अवरोध अन्त्य गर्न जोखिमयुक्त स्थानमा स्थायी सडक संरचना तथा पुल निर्माण गर्न माग गरेका छन् ।





