स्याङ्जामा नयाँभन्दा खारेज हुने उद्योग तथा फर्म बढी


काठमाडौँः स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता हुनेभन्दा खारेज हुने उद्योग तथा व्यावसायिक फर्मको संख्या बढी देखिएको छ । एक वर्षमा २९१ नयाँ उद्योग तथा फर्म दर्ता हुँदा ३३४ वटा खारेज भएका छन् ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी २९१ नयाँ उद्योग तथा फर्म दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ गरी ३३४ वटा खारेज भएका छन् । यसरी नयाँ दर्ताको तुलनामा ४३ वटा बढी उद्योग तथा फर्म खारेज भएका छन् । नयाँ दर्ता भएका उद्योग तथा व्यवसायमा ३६ करोड ४० लाख रुपैयाँ लगानी थपिएको कार्यालयले जनाएको छ । उद्योगतर्फ २२ करोड २० लाख र वाणिज्यतर्फ १४ करोड २० लाख रुपैयाँ लगानी भएको छ ।

खारेज भएका उद्योग तथा फर्ममा भने उद्योगतर्फ २५ करोड ३५ लाख र वाणिज्यतर्फ १६ करोड ५० लाख रुपैयाँ लगानी रहेको तथ्यांक छ । पौडेलका अनुसार नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाममा छन् । उद्योग दर्ता गर्दा महिलालाई ५० प्रतिशत दस्तुर छुटको व्यवस्था भएपछि महिला नेतृत्वमा उद्योग दर्ता गर्ने क्रम बढेको उनले बताए। कृषि, उत्पादनमूलक उद्योग, सप्लायर्स तथा पर्यटनसम्बन्धी व्यवसाय नयाँ दर्तामा बढी छन् ।

नयाँ उद्योगको तुलनामा खारेजी बढ्नुमा वैदेशिक रोजगारीका लागि युवायुवती विदेशिनु प्रमुख कारणमध्ये एक रहेको पौडेलले बताए । युवा विदेशिएपछि परिवारका सदस्यले सञ्चालन गर्दै आएका पेशा तथा व्यवसायसमेत बन्द हुने क्रम बढेको उनको भनाइ छ । यस अवधिमा जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ एक हजार २१ गरी एक हजार ९९७ उद्योग, व्यावसायिक फर्म तथा पसल नवीकरण भएका छन् । नवीकरणबाट करिब ६० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।