चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


काठमाडौँः चितवनमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटना शनिबार दिउँसो खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको हो । प्रहरीका अनुसार दिउँसो १२ः२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र.०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र.०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो । उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।