मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री शाह काठमाडौँ फर्किए


काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौँ फर्किएका छन् । शनिबार राति परिवारसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए ।

उनले मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए । पूजाअर्चना सकेर शनिबार राति करिब ८ः४५ बजे मुक्तिनाथबाट फर्किएका शाहले जोमसोम बजारस्थित होटल ओम्स होममा एक रात बिताएका थिए । उक्त होटल विष्णु राज र लालकुमारी हिराचनले पाँच दशकदेखि सञ्चालन गर्दै आएका छन् ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमणका रूपमा रहेको र यस क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम नरहेको स्रोतले जनाएको छ । भ्रमणका क्रममा सुरक्षा व्यवस्था भने सुदृढ पारिएको थियो ।