सप्तरीमा नाबालिकाको हत्या, एकजना पक्राउ


काठमाडौँः सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुन मृत अवस्थामा फेला परेकी छन् । स्थानीय मोहम्मद इरफानकी छोरी खुशी आइतबार बिहान घरबाट हराएकी थिइन् ।

परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला पारेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण बालिकाको हत्या भएको देखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिको विवरण तथा घटनाबारे थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीयको बाक्लो भिड लागेको छ ।