उद्योगमा विद्युत् खपत बढाउन मौसमी महसुल लागू गर्ने तयारी


काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन मौसमी विद्युत् महसुल र धेरै विद्युत् खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

विराटनगरमा मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँगको छलफलमा मन्त्री श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउने र विद्युत् खपत बढाउने गरी महसुल संरचना सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार सुनसरी–मोरङ क्षेत्रमा नौवटा नयाँ सबस्टेसन थपिँदै छन् ।

ती सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ । उद्योगी–व्यवसायीले नियमित र गुणस्तरीय विद्युत् आपूर्ति, बर्जु र केरौन सबस्टेसनको निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने तथा कटहरी औद्योगिक क्षेत्रमा विद्युत् पूर्वाधार विस्तार गर्नुपर्ने माग राखेका छन् । उनीहरूले डिमान्ड शुल्क हटाउन, विद्युत्मा लगाइएको भ्याट हटाउन र ठूलो पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादन गर्न अनुमति दिनुपर्ने मागसमेत गरेका छन् ।

उद्योगीहरूले आवश्यक अनुमति र पूर्वाधार सुनिश्चित भए ५ देखि ५० मेगावाटसम्म विद्युत् खपत गर्न सक्ने गरी लगानी गर्न तयार रहेको बताएका छन् ।