झापामा १३ वर्षीया बालिकालाई होटलमा पुर्‍याएर यौन शोषण गराएको आरोपमा दुई पक्राउ


काठमाडौँः १३ वर्षीया बालिकालाई ललाइफकाई दमकस्थित होटलमा पु¥याएर यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ केराबारी–९ देवीझोडाकी हाल दमक बस्दै आएकी जुनु भनिने पार्वती ऋषिदेव र दमक–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन् । प्रहरीका अनुसार ऋषिदेवले बालिकालाई प्रलोभनमा पारी अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्‍याएकी थिइन् ।

होटल सञ्चालक अधिकारीले बालिकालाई यौन शोषणमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन ३१ गते बालिका घरबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि अभिभावकले इलाका प्रहरी कार्यालय दमकमा खोजीका लागि निवेदन दिएका थिए । प्रहरीले खोजतलासका क्रममा बालिकाको अवस्था पत्ता लगाएपछि दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत थप अनुसन्धान भइरहेको छ ।