त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान



काठमाडौँः भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा पुगेको क्षति तथा यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीपछि त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।

बाढी पूर्वानुमान शाखाको चेतावनीलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सबै संयन्त्र उच्च सतर्कताका साथ परिचालन गर्न सरकारसँग आग्रह गरिएको छ । जोखिममा रहेका तटीय बस्तीका नागरिकलाई सुरक्षित तथा उच्च स्थानमा तत्काल स्थानान्तरण गर्न पनि अपिल गरिएको छ । अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा यात्रा नगर्न नागरिकलाई अनुरोध गरिएको छ । आपतकालीन अवस्था आएमा नेपाल प्रहरीको १०० तथा १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

जोखिममा परेका नागरिकको उद्धार तथा पूर्वतयारीमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रिय रूपमा खटिन पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ । विज्ञप्ति महामन्त्री विपिन कुमार आचार्यले जारी गरेका हुन् ।