भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षण गर्न मन्त्री श्रेष्ठ आज नुवाकोट र रसुवा जाँदै


काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको आज निरीक्षण गर्नुहुने भएको छ । मन्त्री श्रेष्ठ स्थलमार्ग हुँदै नुवाकोट पुगेर प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुहुनेछ ।

साथै, विद्युत् नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जा तथा सोलारको व्यवस्था गर्ने उपायबारे छलफल गर्नुहुनेछ । त्यसपछि हेलिकप्टरमार्फत रसुवा पुगेर जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार, कठिनाइ र क्षतिको विवरणबारे जानकारी लिनुहुनेछ । रसुवाबाट फर्किएपछि उहाँ नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुगेर उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम छ ।

उहाँले सुरुङमा फसेका कर्मचारीका परिवारसँग भेटघाट गर्नुका साथै नेपाल विद्युत् प्राधिकरणको टोलीसँग छलफल गरी आवश्यक सहजीकरण र निर्देशन दिने सचिवालयले जनाएको छ ।