महिला कर्मचारीको मृत्यु प्रकरणमा सुर्खेतका नायब सुब्बा पक्राउ


काठमाडौँः सुर्खेत प्रहरीले महिला कर्मचारीको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसीलाई पक्राउ गरेको छ ।

अप्रहरीका अनुसार विसीलाई शनिबार वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरिएको हो । आत्महत्या दुरुत्साहनको कसुरमा मृतकका श्रीमान्ले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ । वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाको आवासगृहस्थित बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

उनका श्रीमान् महेश बस्नेतले उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानमा विसी र चन्द्राबीच शंकास्पद सन्देश आदानप्रदान भएको देखिएको प्रहरीले जनाएको छ । विसीले चन्द्रालाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जाजरकोटको कुशे गाउँपालिका–९ पैँक माइती भएकी चन्द्रा एकीकृत कृषि प्रयोगशालामा सहायकस्तर चौथो तहमा कार्यरत थिइन् । उनका एक छोरी छन् ।