बाढीले त्रिशूली वारिपारिको सम्बन्ध टुट्यो, आफन्तको खबर पाउनै मुस्किल


काठमाडौँः १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदी वारिपारिका बस्तीको सम्पर्क नै टुटाइदिएको छ । बाढीले पक्की र झोलुङ्गे पुल बगाएपछि नुवाकोट, रसुवा र धादिङका स्थानीय एकअर्काको खबर पाउनसमेत नसक्ने अवस्थामा पुगेका छन् ।

नुवाकोट दर्शनटारका ८६ वर्षीय भुवनप्रसाद घिमिरेले पुल बगेपछि ‘सम्बन्ध नै टुटेको’ बताए । उनका अनुसार जीवनमा यसअघि यस्तो ठूलो बाढी देखेका थिएनन् । बाढीले तीन जिल्लामा कम्तीमा ३५ वटा पक्की पुल बगाएको छ भने थुप्रै झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएका छन् । पुल र सडक बग्दा पहिले पाँच मिनेटमा हुने वारपार अहिले घुमाउरो बाटोबाट ४–५ घण्टासम्म लाग्ने भएको छ ।

देवीघाटकी दुर्गा पुडासैनीले बाढीले भाइलाई बगाएको सुने पनि पारिपट्टि जान नसकेको बताइन् । स्थानीयका अनुसार आफन्तसँग भेटघाट मात्र होइन, खाद्यान्न, बजार, शिक्षा, स्वास्थ्य र दैनिक आवतजावतसमेत प्रभावित भएको छ । बिजुली र सञ्चार सेवा अवरुद्ध हुँदा कतिपय बस्तीका मानिस मोबाइल चार्ज गर्नसमेत घण्टौँ हिँड्न बाध्य छन् । स्थानीयले अवस्था ‘ढुङ्गेयुगजस्तो’ भएको बताएका छन् ।

सडक र पुल नहुँदा बिरामीलाई काठमाडौं लैजानसमेत कठिन भएको छ। पहिले दुई घण्टामा पुगिने काठमाडौं अहिले वैकल्पिक बाटो हुँदै ७–८ घण्टा लाग्ने स्थानीयको भनाइ छ । बाढीले पुल मात्रै होइन, त्रिशूली वारिपारिका हजारौँ नागरिकबीचको सहज सम्बन्ध, व्यापार, शिक्षा र अत्यावश्यक सेवासमेत टुटाइदिएको छ ।