बाँकेमा एक वर्षमा ८१० सवारी दुर्घटना, ६० जनाको मृत्यु


काठमाडौँः बाँकेमा गत आर्थिक वर्ष २०८२/८३ मा ८१० वटा सवारी दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ भने १ हजार ३ सय जना घाइते भएका छन् । घाइतेमध्ये १७५ जना गम्भीर र १ हजार १२१ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सो अवधिमा चेकजाँचका क्रममा २३ हजार ४५२ सवारीसाधनमाथि कारबाही गरिएको छ । कारबाहीबाट १ करोड ९५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८६५ जना र तीव्र गतिमा सवारी चलाउने ५८० जना रहेका छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले १ हजार १ वटा सचेतना कार्यक्रम सञ्चालन गरेको र त्यसबाट ९० हजार चालक तथा विद्यार्थी लाभान्वित भएको जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बाँकेमा ८४ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु र १४२ जना घाइते भएका छन् ।