सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी


काठमाडौँः सर्वोच्च अदालतको निर्माणाधीन अभिलेख शाखामा आगलागी भएको छ । आगलागीबाट प्रयोगविहीन अवस्थामा राखिएका कागजात र कानून पत्रिकाका कपी जलेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सुरक्षाकर्मी र कर्मचारीले दमकल बोलाएर आगो नियन्त्रणमा लिएका थिए । बिजुलीको प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नभएको र अभिलेख शाखाको कोठाबाहेक अन्यत्र असर नपरेको अदालत प्रशासनले जनाएको छ ।

निर्माणाधीन अभिलेख शाखामा काम नलाग्ने तथा प्रयोगविहीन फाइल र कागजात मात्र राखिएको प्रवक्ता कोइरालाले बताए ।