भोटेकोशी बाढीमा बेपत्ता पत्रकार शेखर ढुङ्गाना र पत्नी निर्मलाको कुशको शव बनाएर दाहसंस्कार


काठमाडौँः रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका भक्तपुर चाँगुनारायण–९ ताथलीका पत्रकार शेखर ढुङ्गाना र उनकी पत्नी निर्मला ढुङ्गानाको आठौँ दिनसम्म पनि अवस्था पत्ता नलागेपछि परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाई दाहसंस्कार गरेको छ ।

ढुङ्गानाका दाजु भाष्कर ढुङ्गानाका अनुसार परिवारले परम्पराअनुसार कुशमार्फत उनीहरूको अन्तिम संस्कार गरेको हो । ढुङ्गाना दम्पती भदौ ९ गते कैलाश मानसरोवर यात्राका लागि गएका थिए । यात्राका क्रममा भदौ १० गते बिहान ८ः१६ बजे रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा नाम दर्ता गरी चीन प्रवेश गर्ने क्रममा अचानक आएको विनाशकारी बाढीमा परी उनीहरू बेपत्ता भएका थिए ।

उक्त घटनामा ढुङ्गानाका सासुससुरासहित कीर्तिपुरबाट यात्रामा गएको १७ सदस्यीय टोली नै बाढीमा परी बेपत्ता भएको थियो । पत्रकार ढुङ्गानाका आमा र दुई छोरा छन् । घटनाको खबर पाएलगत्तै उनका जेठा छोरा अमेरिकाबाट नेपाल आएका थिए । एक सातासम्म पनि दम्पतीको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारले परम्पराअनुसार अन्तिम संस्कार गरेको हो ।