भोटेकोशी बाढी प्रभावितलाई ५ मिलियन डलर सहायता, भदौ २२ मा राष्ट्रिय शोक


काठमाडौँः सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार तथा पुनस्र्थापनाका लागि एसियाली विकास बैंक (एडीबी)बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई कर र महसुलमा सहुलियत दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बाढीको खोजी तथा उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने र घाइते भए निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय भएको छ।

उद्धारका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिइनेछ । यस्तै, बाढीमा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्दै सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी भन्सार छुटमा आयात गर्न स्वीकृति दिएको छ ।

साथै, भदौ २३ गते ‘जेनजी शहीद दिवस’मा सार्वजनिक बिदा दिने र नेपाल प्रशासन सेवाका नारायणप्रसाद भट्टलाई सचिव पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।