काठमाडौँः रसुवाको विनाशकारी बाढीपछि चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।
बिहीबार ११४ जना र शुक्रबार १५५ जना गरी दुई दिनमा २६९ जना नेपाल फर्किएका छन् । शुक्रबार फर्किएका १५५ जनामध्ये १४५ जना रसुवा, १ जना धादिङ र ९ जना काठमाडौंका नागरिक रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । बाढीपछि चीनतर्फ करिब ८ सय नेपाली फसेको बताइएको छ।
उनीहरूलाई क्रमशः तातोपानी नाका हुँदै स्वदेश ल्याउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ ।





