माथिल्लो त्रिशूली–३ ‘बी’मा १९१ जना सम्पर्कविहीन, तीन एस्काभेटरबाट खोजी जारी


काठमाडौँः रसुवाको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका १९१ जना कर्मचारी तथा श्रमिकको खोजी तथा उद्धार कार्य जारी छ । आयोजनास्थलमा तीनवटा साना एस्काभेटर परिचालन गरी पहिरोले पुरिएको क्षेत्रमा भग्नावशेष र ठूला ढुंगा हटाउने काम भइरहेको छ ।

तर, अहिलेसम्म भवन वा मानिस रहेको कुनै संरचना फेला परेको छैन । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार प्रभावकारी रूपमा भग्नावशेष हटाउन ठूलो एस्काभेटर आयोजनास्थलमा पुर्‍याउन आवश्यक छ । पहिरोका कारण सडक अवरुद्ध भएकाले ठूलो मेसिन लैजान कठिन भइरहेको छ । सडक खुलाउन डाँडा काट्ने काम भइरहेको छ भने विकल्पका रूपमा एस्काभेटरलाई पार्ट–पार्टमा छुट्याएर घटनास्थलमा पुर्‍याई पुनः जडान गर्ने तयारीसमेत भइरहेको छ ।

खोजी तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको टोली परिचालित छन्। साथै, अडिट टनेलभित्रका अवरोध हटाएर अडिट–२ तर्फबाट समेत भग्नावशेष हटाउने योजना बनाइएको छ ।