ऋण असुलीका नाममा यातना दिनेलाई कारबाही गर्ने गृह मन्त्रालयको निर्देशन



काठमाडौँः गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख, यातना, गाली–बेइज्जती वा दुव्र्यवहार गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले परिपत्र जारी गर्दै ऋण असुलीका क्रममा घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म कर्मचारी घरमै बसेर धरपकड गर्ने लगायतका गैरकानुनी गतिविधि नगर्न भनेको हो । यस्ता गतिविधिबाट पीडित भएकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन् । उजुरीका आधारमा प्रशासनले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयको यो निर्णयपछि भने बैंक तथा वित्तीय संस्थाहरूमा ऋण असुली थप कठिन हुने चिन्ता देखिएको छ । खराब कर्जा बढिरहेका बेला ऋण असुलीमा कडाइ गर्न नपाइने अवस्था आए उठ्नुपर्ने ऋणसमेत नउठ्ने जोखिम रहेको बैंकरहरूले बताएका छन् ।