जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना फसेको अनुमान


काठमाडौंः भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका क्रममा विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्र पसेका १२१ जनाको अवस्था अझै यकिन हुन नसकेको जानकारी दिए । उनका अनुसार जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म जारी रहनेछ ।

सेनाले जलविद्युत् आयोजनामा कार्यरत केही अन्य व्यक्ति भने सुरुङबाहिर बाढी तथा लेदोमा परेको हुनसक्ने अनुमान गरेको छ । सहायक रथी थापाले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा ठूलो मात्रामा क्षति पुगेको बताए । प्रारम्भिक आकलनअनुसार बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको छ । रसुवाको बाढीबाट १२ वटा जलविद्युत् आयोजना प्रभावित भएको र विद्युत् उत्पादन प्रणालीमा ठूलो असर परेको थियो ।