जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा


काठमाडौः जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलन भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै हरेक वर्ष यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक आवाजमा परिणत भएको थियो ।

२३ भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यस घटनाको विरोधमा २४ भदौमा देशभर प्रदर्शन भएको थियो । दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोडसमेत भएको थियो । सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानस्वरूप २३ भदौलाई शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।