दुई पुल बगेपछि मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह


काठमाडौँः गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म ती पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो । प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको थियो । पुल बगेपछि आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ ।

यात्रामा रहेका तथा यात्रा गर्ने तयारीमा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद् वा असामान्य अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहमा तत्काल जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।