काठमाडौँः बोलिभियाको भियाचा सहरस्थित सैनिक शिविरमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने सैनिकको संख्या नौ पुगेको छ । भग्नावशेषबाट थप तीन सैनिकको शव फेला परेपछि मृतकको संख्या बढेको रक्षा मन्त्रालयले जनाएको छ ।
राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको सैनिक ब्यारेकमा शुक्रबार दुई शक्तिशाली विस्फोट भएका थिए । ब्यारेकमा जफत गरिएका पटाका, ग्रिनेड तथा टीएनटीमा आधारित विस्फोटक पदार्थ भण्डारण गरिएको थियो । मृतकमध्ये एक हवल्दार र आठ जना अनिवार्य सैनिक सेवामा रहेका युवा सैनिक छन् । अझै पाँच सैनिक बेपत्ता छन् ।
विस्फोटमा ८४ जना घाइते भएकामा ३१ जना अझै अस्पतालमा उपचाररत रहेको स्वास्थ्यमन्त्री मार्सेला फ्लोरेसले बताउनुभयो । सेनाका कमान्डर हेक्टर अलार्कोनका अनुसार दुर्घटनाका बेला ब्यारेकमा रहेका करिब २४० सैनिकमध्ये अधिकांश बाहिर रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो ।
राष्ट्रपति रोड्रिगो पाजले घटनास्थलमा रहेका थप विस्फोटक पदार्थ सुरक्षित स्थानमा सारिसकिएको जानकारी दिनुभएको छ। घटनाको जिम्मेवारी र ब्यारेकमा भण्डारण गरिएका विस्फोटक पदार्थको वास्तविक परिमाण पत्ता लगाउन सरकारले आन्तरिक अनुसन्धान थालेको छ ।





