काठमाडौंः नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति गगन थापाले गरेको सहमतिको प्रयास कमजोर बन्दै गएको छ ।
सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवासँग चार पटकसम्म भेट्ने प्रयास गरे पनि समय नपाएको गुनासो केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गरेका छन् । देउवाका स्वकीय सचिव तथा निकट नेताहरूमार्फत भेटको वातावरण बनाउन खोज्दा पनि सम्भव नभएको उनले बताएका छन् । महाधिवेशनको मिति केही लचिलो बनाएर भए पनि पार्टीलाई एकढिक्का बनाउने प्रयासमा आफू रहेको थापाको भनाइ छ ।
तर महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले असन्तुष्ट पक्ष सहमतिमा आउनेमा आशंका व्यक्त गर्दै निर्धारित महाधिवेशन प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका छन्। यसले कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।





