फुकुओकामा नेपाली युवतीको हत्या प्रकरण : तीन नेपाली पक्राउ


काठमाडौँः जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन्।

जापान प्रहरीले हत्या अभियोगमा २८ वर्षीय सन्जु तामाङ, २५ वर्षीया अमिस्ता तामाङ र २२ वर्षीय प्रबिन लामालाई पक्राउ गरेको हो। झापा चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत १९ अगस्टमा फुकुओकाको एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने प्रहरीको आशंका छ।

अनुसन्धानका क्रममा मृतक राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन र पक्राउ परेकी सन्जु एउटै घरमा बस्दै आएको खुलेको छ। प्रेम सम्बन्धसँग जोडिएको विवादलाई घटनाको सम्भावित कारण मानेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका तीनै जनाले आरोप स्वीकार वा अस्वीकार गरेकोबारे भने प्रहरीले सार्वजनिक गरेको छैन।