काठमाडौंः रसुवा लगायतका बाढी तथा पहिरो प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १३ करोड ५० लाख रुपैयाँ) मानवीय सहायता उपलब्ध गराएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटियाले परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेकी हुन् । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेको निर्देशनमा घोषणा गरिएको सहयोग कार्यान्वयन गर्दै उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । श्रीलंकाली राजदूत डेलपिटियाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाली जनता र सरकारप्रति श्रीलंकाको पूर्ण ऐक्यबद्धता रहेको बताइन् । नेपाल सरकारले उक्त सहयोग राहत, उद्धार तथा पुनःनिर्माणमा प्रयोग गर्ने जनाएको छ ।





