भदौभित्रै कृष्णभिरको सडक खुलाउने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक बनाउन काम तीव्र


काठमाडौँः पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र बनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौको अन्तिमसम्म सडक सञ्चालनमा ल्याउने बताउनुभएको थियो ।

कृष्णभिरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरेपछि रातिसमेत दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो भागमा समेत काम भइरहेको छ । राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि सँगसँगै अघि बढाइएको छ । भदौ १० गतेको बाढीले कृष्णभिर क्षेत्रको सडक कमजोर बनाएको थियो भने भदौ १४ गते भोटेकोशीको बाढीले सडक थप भासिएपछि सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले चार दिनसम्म गरेको द्रुत अध्ययनपछि पहाड काटेर २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारिएको हो ।

कृष्णभिरमा सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा ग्यास, चिनी लगायतका अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर परेको छ। सरकारले सडक छिटो सञ्चालनमा ल्याएर आपूर्ति तथा यातायात व्यवस्था सहज बनाउने प्रयास गरिरहेको छ ।