काठमाडौँः अध्यागमन विभागले नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) अब नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको जनाएको हो । यो व्यवस्था लागू भएसँगै भ्रमण विवरण लिन सेवाग्राहीले अब विभागमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानी विवरण देखिने भएकाले व्यक्तिगत विवरण सुरक्षित रहने विभागको भनाइ छ ।
यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट, ढिलाइ तथा विभागको कार्यबोझ बढ्ने गरेकोमा नयाँ व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत गर्ने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए । उनका अनुसार विभिन्न व्यक्ति तथा संघसंस्थाले नागरिक एपबाट प्राप्त भ्रमण विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन् ।





