काठमाडौँः रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ विद्यालयमा आंशिक क्षति पुगेको छ ।
बाढीका कारण विद्यालय भवनसँगै शैक्षिक सामग्री, फर्निचरलगायतका सम्पत्ति नष्ट भएका छन् । यसबाट ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । संरचना पुनर्निर्माण र पठनपाठन तत्काल सञ्चालन गर्न १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ । दीर्घकालीन पुनरुत्थानका लागि भने २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने जनाइएको छ ।
सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । सरकारको आग्रहमा निजी विद्यालयका पाँच संस्थाले समेत बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बाढीका कारण विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न सम्बन्धित स्थानीय तहले उनीहरूको पायक पर्ने विद्यालयमै अध्ययनको व्यवस्था मिलाउन सहजीकरण गरिरहेका छन् ।





