गरिमा चौधरी प्रकरण: दुई बालक बाल सुधार गृहमा, १० प्रतिवादी तारिखमा रिहा


काठमाडौँः बाराकी बालिका गरिमा चौधरीको अपहरण, जबर्जस्ती करणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले दुई बालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको छ भने अन्य १० प्रतिवादीलाई तारिखमा राखेर रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले भदौ २४ गते दुई बालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको हो। अदालतले उनीहरूविरुद्ध बयान, शव परीक्षण तथा चिकित्सकीय प्रतिवेदन, डीएनए परीक्षण र मनोसामाजिक परामर्श प्रतिवेदनलगायत प्रमाणका आधारमा अभियोगअनुसार सजाय हुन सक्ने आधार देखिएको जनाएको छ ।

अदालतले पीडित पक्षलाई तत्काल अन्तरिम क्षतिपूर्तिबापत २ लाख रुपैयाँ पीडित राहत कोषबाट उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्न पनि आदेश दिएको छ । यस्तै, बिहीबार सोही घटनामा अभियोग लागेका १० जनालाई तारिखमा राखेर पुर्पक्ष गर्ने आदेश भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गरिएको हो ।

रिहा हुनेमा प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन्। उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त तथा ठोस प्रमाण नदेखिएको अदालतको आदेशमा उल्लेख छ । बालिकाका बुबा मनोज चौधरीको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूसहित १२ जनाविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अभियोजन गरेको थियो ।

गत साउन ३१ गते जीतपुरसिमरा–१ स्थित प्रोग्रेश चौधरीको घरमा खेल्न गएकी गरिमा बेपत्ता भएकी थिइन्। भदौ २ गते साँझ भक्तिनगरस्थित एक घरमा उनको शव फेला परेको थियो। घटनाको देशव्यापी विरोध भएपछि भदौ ६ गते सरकारसँग तीनबुँदे सहमति भएको थियो। त्यसपछि परिवारले शव बुझेका थिए ।