बालबालिकाको ज्यान जोगाएर चालकले गुमाए आफ्नै ज्यान, अन्तिम क्षणको साहसले भावुक बनायो सबैलाई


काठमाडौँः भारतको तमिलनाडुस्थित तिरुप्पुरमा विद्यालय भ्यान चालक सेमलैयप्पनले आफ्नो जीवनको अन्तिम क्षणमा देखाएको साहसले सबैलाई भावुक बनाएको छ ।

४९ वर्षीय सेमलैयप्पन करिब २० जना विद्यालयका बालबालिकालाई घरतर्फ लैजाँदै थिए । त्यही क्रममा उनलाई अचानक छातीमा तीव्र पीडा भयो। स्वास्थ्य अवस्था बिग्रँदै गए पनि उनले आफूलाई सम्हाल्दै भ्यानलाई सुरक्षित रूपमा सडकको छेउमा रोके । भ्यान रोकेपछि उनले बालबालिका सुरक्षित रहेको सुनिश्चित गरे । त्यसलगत्तै उनी चालकको सिटमै ढले ।

तत्काल अस्पताल पु¥याइए पनि उनको ज्यान बचाउन सकिएन । आफ्नो ज्यान संकटमा परेको अवस्थामा समेत आफूले जिम्मा लिएका बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै उनले देखाएको सुझबुझ र कर्तव्यनिष्ठाका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ । तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले पनि सेमलैयप्पनको कर्तव्यप्रतिको समर्पण र त्यागको प्रशंसा गर्दै उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छन् ।

सेमलैयप्पनको अन्तिम साहसले एउटा गहिरो सन्देश छोडेको छ—नायक बन्न ठूलो पद वा पहिचान आवश्यक हुँदैन, कठिन अवस्थामा पनि अरूको जीवनलाई प्राथमिकता दिन सक्नु नै साँचो वीरता हो ।