काठमाडौंः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत नेपाल–भारत सीमासम्म जोड्ने ४०० केभी प्रसारण लाइनको निर्माण कार्य शिलान्यासको नौ महिनामै सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको सुनवल–१३, सूर्यवस्तीस्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर खण्डमा ५३ वटा टावर निर्माण सम्पन्न भएको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले जनाएको छ । योसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालबाट गर्नुपर्ने निर्माण कार्य पूरा भएको छ । लाइन सञ्चालनमा ल्याउनुअघि नेपाल–भारतबीच विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य बाँकी प्रक्रिया अघि बढाइनेछ ।
एमसीसी परियोजनाअन्तर्गत कुल ३१५ किलोमिटर उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण गर्ने योजना छ । साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोगसमेत प्रदान गरिँदैछ । प्रसारण लाइन निर्माणका क्रममा हालसम्म करिब १ अर्ब २४ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको एमसिए–नेपालले जनाएको छ ।





