काठमाडौः तीजकै दिन बसको ठक्करबाट सशस्त्र प्रहरी बल नेपालका सहायक हवल्दारको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए । दुर्घटनामा टाउको, छाती तथा हातखुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेका खड्कालाई विराट शिक्षण अस्पताल लगिएको थियो ।
उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णकट्टी, सप्तरीमा सहायक हवल्दार पदमा कार्यरत थिए । दुर्घटनापछि प्रहरीले बस, मोटरसाइकल र बस चालक सुनसरी रामधुनी–५ का ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





