काठमाडौः धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक ११ दिनपछि सकुशल उद्धार भएका छन् । बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरेको छ ।
कमलेश महतोका छोरा सिधान्त महतो भदौ १८ गते साँझ आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए । बालकको खोजीका लागि ६० जनाको प्रहरी टोली, तालिमप्राप्त कुकुर तथा प्राविधिक अनुसन्धान टोली परिचालन गरिएको थियो । अनुसन्धानका क्रममा पासवानले बालकलाई नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले नाकामा निगरानी बढाएपछि भदौ २९ गते दिउँसो उनले बालकलाई घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन् । प्रहरीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ । बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पासवानलाई सोही दिन साँझ विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





