रास्वपाको नेता र प्रधानमन्त्रीको सचिवालय सदस्य हुँ भन्दै सरकारी कार्यालय अनुगमन गर्ने युवक पक्राउ


काठमाडौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको झुटो दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्।

सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरेको छ । प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको नेता तथा प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएर सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकमा पहुँच बनाएका थिए। उनले जिल्ला प्रशासन कार्यालयबाट अनुगमनका लागि सरकारी गाडीसहितको सुविधा समेत लिएको प्रहरी स्रोतले जनाएको छ ।

आफ्नै गाउँपालिका हल्दिबारी पुगेर फर्किएपछि उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा समेत नरहेको खुलेपछि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार विश्वकर्मालाई सोमबार पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको हो । प्रहरीले उनले झुटो परिचय दिएर लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्‍याएको भए सम्पर्क गरी निवेदन दिन आग्रह गरेको छ । सरकारी गाडी प्रयोग गरेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।