रसुवा बाढीपीडितलाई फ्रान्सको मानवीय सहयोग


काठमाडौः भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि फ्रान्सले राहत सामग्री उपलब्ध गराएको छ ।

नेपालस्थित फ्रान्सेली दूतावासले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई म्याट, सरसफाइ किट, भान्साका सामान, पानी शुद्धीकरण ट्याब्लेट, सोलार बत्ती र औषधि किट हस्तान्तरण गरेको हो । युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा सामग्री उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरे । राजदूतले विपद्को यस दुःखद् घडीमा फ्रान्स नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।