जलवायु परिवर्तनको असरबारे दबाब सिर्जना गर्न जोमसोममा सम्मेलन


काठमाडौः मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोगिरहेका समस्या र त्यसको न्यूनीकरणका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ ।

मंगलबार आयोजित सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले २८ फिट उचाइको जलवायु परिवर्तनको असर झल्काउने पृथ्वीको गोलाकार आकृतिको बेलुन अनावरण गरेर गर्नुभयो । सम्मेलनअघि गाउँपालिकाको कार्यालयबाट प्रभातफेरी निकालिएको थियो । सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहको शुभकामना मन्तव्यसमेत वाचन गरिएको थियो ।

मन्तव्यमा सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । सम्मेलनमा देशभरका ४३१ स्थानीय तह र ४१ जिल्ला समन्वय समितिसहित दुई हजारभन्दा बढी प्रतिनिधि तथा अतिथि सहभागी छन् । प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेशसभा सदस्य विकल शेरचनलगायतको उपस्थिति रहेको छ । बुधबारसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनका कारण मुस्ताङमा हिमनदी पग्लिँदा हिमताल अस्थिर बन्दै जानु, अचानक बाढीको जोखिम, पानीका स्रोतमा अस्थिरता, असामान्य वर्षा, बाढीपहिरो तथा खानेपानीको अभावका कारण हुने बसाइँसराइजस्ता विषयमा छलफल हुनेछ ।

सम्मेलनबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तहले गर्न सक्ने काम, नीति निर्माणमा आवश्यक पहल तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले साझा धारणा र घोषणापत्र जारी गरिने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभएको छ ।