काठमाडौँः जनकपुरका दुई होटलमा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
२३ वर्षीय राइनलाई भदौ २६ गते धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना भएपछि कतार भागेका उनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो । घटना २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । उनलाई सोमबार अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
पीडित बालिकाको बयानका आधारमा प्रहरीले कवारीलाई गत शुक्रबार पक्राउ गरेको थियो । धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुर ल्याई होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा राइनसहित करिब एक दर्जनविरुद्ध मुद्दा दर्ता छ । घटनामा दुई प्रहरीसमेत संलग्न रहेको आरोप छ भने अधिकांश अभियुक्त अझै फरार छन् । मुद्दाको मिसिलअनुसार बालिकालाई जनकपुरको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाइएको थियो ।
त्यहाँ होटल सञ्चालकसहितका प्रतिवादीले जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर बलात्कार गर्न लगाएको अभियोग छ । यसअघि पनि बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी होटलमा पु¥याएर बलात्कार तथा बेचबिखन गरेको आरोपमा ताहिरविरुद्ध जाहेरी परेको थियो । पीडितले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिए पनि समयमा सुनुवाइ नभएको र त्यसपछि राइन विदेश भागेको आरोप छ । त्यसपछि १७ असारमा बालिका पुनः अपहरणमा परेको जाहेरीमा उल्लेख छ ।
घरबाट बाहिर निस्किएका बेला गाडीमा आएका व्यक्तिहरूले आँखामा कपडा बाँधेर उनलाई अपहरण गरेको पीडितको बयान छ । घटनापछि चौतर्फी दबाब र असुरक्षाका कारण पीडित बालिका अझै सेफ हाउसमा बस्दै आएकी छन् ।





