साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ .अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो ।
“विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे। मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए।